आईक्यानले प्रोफेसनल एकाउन्टेन्ट्सहरूको बजार प्रवर्द्धनलार्इ अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप व्यवस्थित गर्दै ।
ललितपुर, नेपाल – ९ जुन २०२६ – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले "सार्वजनिक अभ्यासमा रहेका व्यावसायिक लेखापालद्वारा व्यावसायिक सेवाको बजार प्रवर्द्धन सम्बन्धी निर्देशिका, २०२३ (Guidelines on Marketing Professional Services by Professional Accountants in Public Practice 2023)" को दोस्रो संशोधन गरेको छ । यस महत्वपूर्ण संशोधनले लेखा व्यवसायको मूल नैतिक मूल्य तथा मर्यादालाई कायम राख्दै डिजिटल सञ्चार, वेबसाइट उपस्थिति तथा सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसारका लागि आधुनिक र स्पष्ट कार्यढाँचा स्थापित गरेको छ । “पुल (Pull)” तथा “पुश (Push)” प्रविधिको प्रयोगको सीमालाई स्पष्ट रूपमा परिभाषित गर्दै यस निर्देशिकाले नेपालमा प्रचलित व्यावसायिक अभ्यासलाई अन्तर्राष्ट्रिय नियामकीय प्रवृत्तिसँग समायोजन गर्दै फर्महरूको आधुनिक प्रतिस्पर्धात्मक आवश्यकतालाई व्यवसायिक मर्यादा र विश्वसनीयतासँग सन्तुलित बनाउने उद्देश्य राखेको छ ।
संशोधनले फर्महरूले प्रविधिको प्रयोगमार्फत सूचना प्रवाह गर्ने तरिकामा महत्वपूर्ण संरचनात्मक परिवर्तन ल्याएको छ । नयाँ व्यवस्थाअनुसार लेखा तथा परामर्शजस्ता सामान्य सेवाहरूको जानकारी, शैक्षिक सामग्री तथा तालिमसम्बन्धी सूचना प्रवाहका लागि वेबसाइट र सामाजिक सञ्जालमा “पुल” र “पुश” दुवै माध्यम प्रयोग गर्न सकिनेछ तर त्यस्ता गतिविधि प्रत्यक्ष ग्राहक आह्वान (Client Solicitation) को स्वरूपमा हुन नहुने व्यवस्था गरिएको छ । तर कानुनद्वारा प्रोफेसनल एकाउन्टेन्ट्सले मात्र प्रदान गर्न सक्ने वैधानिक लेखापरीक्षण तथा प्रमाणीकरणसम्बन्धी सेवाहरूका लागि “पुल” मोडल मात्र प्रयोग गर्न पाइनेछ जसले सेवा खोजी गरिरहेका व्यक्तिहरूलाई मात्र त्यस्तो जानकारी उपलब्ध गराउने सुनिश्चित गर्दछख। साथै व्यावसायिक सेवासम्बन्धी सामाजिक सञ्जाल पोस्टहरूलाई शुल्क तिरेर प्रवर्द्धन (Boost) गर्न निषेध गरिएको छ भने फर्मका वेबसाइटहरूमा तेस्रो पक्षका विज्ञापन राख्न नपाइने व्यवस्था गरिएको छ र ग्राहकको नाम वा सेवा शुल्कसम्बन्धी विवरण सार्वजनिक गर्न नपाइने प्रावधानलाई यथावत् राखिएको छ ।
यी संशोधनहरूले नेपालका व्यावसायिक लेखापालहरूको अभ्यासलाई अन्तर्राष्ट्रिय आचारसंहिता तथा उत्कृष्ट अभ्यासहरूसँग थप नजिक ल्याएको छ । यसले विशेषतः अन्तर्राष्ट्रिय लेखापाल आचारसंहिता निर्माण बोर्ड (International Ethics Standards Board for Accountants (IESBA) द्वारा जारी आचारसंहिता तथा विश्वव्यापी अभ्यासहरूसँग सामञ्जस्य हुने गरी विगतका पूर्ण प्रतिबन्धात्मक दृष्टिकोणलाई परिमार्जन तथा व्यावसायिक व्यवहारको आधारभूत सिद्धान्तलाई संरक्षण गर्दै भ्रामक, अतिरञ्जित वा आक्रामक प्रचारप्रसारलाई नियन्त्रण गर्ने दिशामा जोड दिएको छ । साथै सामाजिक सञ्जालमार्फत शैक्षिक सामग्री प्रकाशन गर्न दिइएको अनुमति पनि जनसाधारणमा वित्तीय तथा लेखासम्बन्धी सचेतना अभिवृद्धि गर्ने अन्तर्राष्ट्रिय अभ्याससँग मेल खान्छ जसले व्यवसायिक गरिमा कायम राख्दै सार्वजनिक हितलाई प्रवर्द्धन गर्दछ ।
आईक्यानले सार्वजनिक अभ्यासमा संलग्न सबै प्रोफेसनल एकाउन्टेन्ट्सहरूलाई आफ्ना डिजिटल बजार प्रवर्द्धन रणनीतिहरू यसअनुसार पुनरावलोकन गरी कार्यान्वयन गर्न अनुरोध गरेको छ । साथै संस्थाको प्रतिष्ठा वा लेखा व्यवसायको गरिमामा प्रतिकूल असर पार्ने कुनै पनि सञ्चार वा सामाजिक सञ्जाल गतिविधिमाथि नियामकीय निगरानी गरिने कुरा पुनःस्मरण गराएको छ । संशोधित निर्देशिका संस्थाको वेबसाइट www.ican.org.np मा उपलब्ध छ ।
