Updates:

Press Release

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा ईएसजी, जलवायु प्रतिवेदन तथा दिगो वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना

  • 02 Oct 2026

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा ईएसजी, जलवायु प्रतिवेदन तथा दिगो वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले विश्व बैंक, नेपाल कार्यालयको सहकार्यमा ESG (Environmental, Social and Governance), जलवायु प्रतिवेदन तथा दिगो वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन शुक्रबार काठमाडौंमा आयोजना गरेको छ।

सम्मेलनमा नीति निर्माता, नियामक निकाय, लेखा तथा वित्त क्षेत्रका पेशाकर्मी, वित्तीय संस्थाका प्रतिनिधि, दिगोपना विज्ञ तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। सम्मेलनमा नेपालमा विकसित हुँदै गएको जलवायु तथा दिगोपनासम्बन्धी प्रतिवेदन प्रणाली, ईएसजी, जलवायु वित्तीय प्रतिवेदन, कार्बन बजार, कार्बन लेखांकन तथा दिगो वित्तका विषयमा छलफल गरिएको थियो।

सम्मेलनलाई सम्बोधन गर्दै आईक्यानका अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले नेपालको अर्थतन्त्र तथा वित्तीय प्रणालीमा दिगोपना र जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदनको महत्व बढ्दै गएको बताउनुभयो। उहाँले लेखा व्यवसायीको भूमिका परम्परागत वित्तीय प्रतिवेदनमा मात्र सीमित नरही दिगोपना तथा जलवायु परिवर्तनसँग सम्बन्धित नयाँ आवश्यकता सम्बोधन गर्ने दिशामा विस्तार हुँदै गएको उल्लेख गर्नुभयो। बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार पेशागत क्षमता विकास गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

सम्मेलनमा सार्वजनिक क्षेत्रको IPSASB SRS 1 अन्तर्गत जलवायु प्रतिवेदन तथा नेपालको मार्गचित्र, NFRS S1 र S2 का आवश्यकता तथा प्रतिवेदन तयारी, कार्बन परियोजना, कार्बन क्रेडिट तथा Blended Finance, साथै कार्बन लेखांकन र सुशासनसम्बन्धी प्रतिवेदनमा पेशागत लेखा व्यवसायीको भूमिका विषयमा चारवटा प्राविधिक सत्र सञ्चालन गरिएको थियो।

पहिलो सत्र ‘Public-Sector Climate Reporting — IPSASB SRS 1 and Nepal’s Roadmap’ मा आईक्यानका पूर्वअध्यक्ष सीए नरेन्द्र भट्टराईले प्रस्तुति दिनुभएको थियो। सत्रअन्तर्गतको प्यानल छलफल आईक्यानका अध्यक्ष सिए  आनन्द राज शर्मा वाग्लेले सञ्चालन गर्नुभएको थियो। छलफलमा लेखामान बोर्ड नेपालका सदस्य सिए दिनेश थकाली, महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक सिए चन्द्रकान्त भण्डारी, महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा नियन्त्रक विष्णु हरि रेग्मी तथा विश्व बैंककी वरिष्ठ वित्तीय व्यवस्थापन विशेषज्ञ तिमिला श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।

दोस्रो सत्र ‘NFRS S1 and S2 — Requirements, Application and Reporting Readiness’ मा अभ्यासरत चार्टर्ड एकाउन्टेन्ट तथा लेखामान बोर्ड, नेपालका पूर्व सदस्य सिए विदुर लुइँटेलले प्रस्तुति दिनुभएको थियो। सत्रमा नबिल बैंकका दिगो बैंकिङ प्रमुख ओमकार काफ्लेले बैंकिङ क्षेत्रमा दिगो बैंकिङको अभ्यास तथा NFRS S1 र S2 कार्यान्वयनका लागि क्षेत्रको तयारीबारे जानकारी दिनुभएको थियो।

त्यसैगरी, ‘Carbon Projects, Carbon Credits and Blended Finance’ विषयक तेस्रो सत्रमा कार्बन बजार तथा जलवायु वित्तका अन्तर्राष्ट्रिय विज्ञ डा. डिभाल्डो रेसेन्डेले प्रस्तुति दिनुभएको थियो। सत्रमा लगानीयोग्य कार्बन परियोजनाको विकास, कार्बन बजारमा नेपालको सहभागिताका सम्भावना तथा त्यसका लागि आवश्यक वित्तीय, प्राविधिक र नियामकीय संरचनाका विषयमा छलफल गरिएको थियो।

सम्मेलनको अन्तिम सत्र ‘Role of Professional Accountants in Carbon Accounting and Governance Reporting for Sustainable Value Creation’ मा SAFA (2026) का उपाध्यक्ष तथा आईक्यानका पूर्व अध्यक्ष सिए प्रवीण कुमार झाले प्रस्तुति दिनुभएको थियो। त्यसपछि आईक्यानका पार्षद सिए हरि कुमार सिलवालको संयोजनमा प्यानल छलफल भएको थियो। छलफलमा आईक्यानका उपाध्यक्ष सिए हेमकुमार काफ्ले, नेपाल राष्ट्र बैंककी निर्देशक सिए श्रीजना बास्तोला, नबिल बैंकका दिगो बैंकिङ प्रमुख ओमकार काफ्ले तथा ऊर्जा विज्ञ सिए आशिष गर्ग सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको समापनमा आईक्यानका कार्यकारी निर्देशक सिए बिमल डंगोलले धन्यवाद ज्ञापन गर्दै वक्ता, प्यानल सदस्य, सहभागी तथा सम्पूर्ण सरोकारवालाहरूलाई सम्मेलन सफल बनाउन पुर्‍याउनुभएको योगदान र सहयोगका लागि आभार व्यक्त गर्नुभयो।

सम्मेलनमा विश्वसनीय दिगोपना सूचना, जलवायु परिवर्तनसम्बन्धी वित्तीय खुलासा, कार्बन लेखांकन, प्रभावकारी संस्थागत सुशासन तथा दिगो वित्तको बढ्दो महत्वमा जोड दिइएको थियो। साथै, संस्थाहरूलाई दिगोपना तथा जलवायु परिवर्तनसम्बन्धी विकसित हुँदै गरेका आवश्यकताहरू बुझ्न, कार्यान्वयन गर्न तथा प्रभावकारी रूपमा प्रतिवेदन गर्न सहयोग पुर्‍याउन लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने विषयमा समेत छलफल भएको थियो।

सम्मेलनले नेपालमा दिगोपना तथा जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक ज्ञान, अनुभव र अभ्यास आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ। साथै, बदलिँदो विश्वव्यापी दिगोपना तथा जलवायु प्रतिवेदनको परिवेशमा नेपालको संस्थागत तयारी, सम्भावना र आगामी प्राथमिकताबारे सरोकारवालाबीच छलफल गर्ने अवसरसमेत प्रदान गरेको छ।