५औँ राष्ट्रिय लेखा व्यवसायी सम्मेलनको औपचारिक शुरूवात
५औँ राष्ट्रिय लेखा व्यवसायी सम्मेलनको औपचारिक शुरूवात
काठमाडौं, १६ बैशाख २०८३ (२९ अप्रिल २०२६)
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले लेखा व्यवसाय क्षेत्रका महत्वपूर्ण विषयवस्तुहरू तथा आर्थिक एवं अन्य समसामयिक विषयहरूमा छलफल गरी नीति निर्माण प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले प्रत्येक वर्ष लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ । यसै क्रममा संस्थाले २०८३ साल बैशाख १६ र १७ गते “Strengthening Trust and Economic Governance: Catalyzing Nepal’s Economic Transformation” विषयक ५औँ राष्ट्रिय लेखा व्यवसायी सम्मेलन आयोजना गरिरहेको छ, जसमा ६ वटा प्राविधिक सत्रहरू सञ्चालन हुनेछन् ।
सम्मेलनको पहिलो दिन आज आयोजित उद्घाटन सत्रमा महालेखा परीक्षक माननीय तोयम राय प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) का अध्यक्ष डा. खगराज शर्मा, एशोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ACAN) का अध्यक्ष सिए अनुप नेपाल तथा अडिटर संघ नेपाल (AUDAN) का अध्यक्ष आरए बद्री प्रसाद भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
उद्घाटन सत्रमा प्रमुख अतिथि माननीय महालेखा परीक्षक तोयम रायले जोखिममा आधारित लेखापरीक्षण (Risk-Based Financial Audit) को महत्वमाथि प्रकाश पार्दै निजी क्षेत्रको पारदर्शिता र सुशासन सुदृढ गर्न लेखापरीक्षणको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले लेखा व्यवसायीहरूले रणनीतिक सल्लाहकार तथा जोखिम व्यवस्थापकको रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वर्तमान डिजिटल अर्थतन्त्र र दिगोपन (Sustainability) को युगमा तथ्याङ्क (Data) मा आधारित निर्णय प्रणालीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै युवा लेखा व्यवसायीहरूको सम्मेलनमा सक्रिय सहभागिता देखेर खुशी व्यक्त गर्नुभयो । साथै, नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा महत्वपूर्ण सुझाव दिन सम्मेलनले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
सम्मेलन अन्तर्गत पहिलो प्राविधिक सत्र “æCurrent Economic Outlook and Potential Current Paradigm Shift” शीर्षकमा सञ्चालन गरिएको थियो । उक्त सत्रको संयोजन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सिए निल बहादुर सारु मगरले गर्नुभएको थियो भने कार्यपत्र प्रस्तुति डा. प्रकाश कुमार श्रेष्ठले गर्नुभएको थियो । सत्रका प्यानेलिस्ट पूर्वमन्त्रीहरू रामेश्वर खनाल, सुरेन्द्र पाण्डे, डा. प्रकाशचन्द्र लोहानी तथा शंकर प्रसाद कोइरालाले नेपालको वर्तमान आर्थिक अवस्था, पूँजीगत खर्च व्यवस्थापन, नीतिगत सुधार, बजेट प्रणालीको प्रभावकारिता तथा करको दायरा विस्तार लगायतका विषयहरूमा आ–आफ्ना धारणा संक्षिप्त रूपमा प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी दोस्रो प्राविधिक सत्र “Strengthening Institutional Trust for Sustainable Economic Transformation” शीर्षकमा सञ्चालन गरिएको थियो। उक्त सत्रको संयोजन संस्थाका निवर्तमान अध्यक्ष सिए प्रबिन कुमार झाले गर्नुभएको थियो । सत्रका वक्ताहरू सुशील ज्ञवाली, सिए महाप्रसाद अधिकारी, प्रा. डा. फत्त बहादुर के.सी. तथा सिए मनोज कुमार ज्ञवालीले संस्थागत विश्वास अभिवृद्धिका लागि विद्यमान नीतिहरूको प्रभावकारी कार्यान्वयन, सरकारी सेवामा पारदर्शिता अभिवृद्धिका लागि डिजिटाइजेशन, सार्वजनिक विश्वास सुदृढ गर्न स्वेच्छिक प्रकटीकरणको महत्व, बलियो राजनीतिक प्रतिबद्धता तथा बैंकिङ संस्थाहरूको सबलीकरणमा नेतृत्वदायी भूमिकाको आवश्यकताका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
तेस्रो प्राविधिक सत्र "From Innovation to Impact: Digital Pathways to Economic Transformation" शीर्षकमा सञ्चालन गरिएको थियो, जसले नेपालमा आर्थिक रूपान्तरणमा डिजिटल नवप्रवर्तनको भूमिकामाथि छलफल केन्द्रित गरेको थियो । सिए हरि कुमार सिलवालको संयोजनमा सम्पन्न उक्त सत्रमा सिए बिनय खड्काले डिजिटल कर प्रणाली, फिनटेक इकोसिस्टम तथा लेखा र लेखापरीक्षण क्षेत्रमा कृत्रिम बौद्धिकता (AI) को बढ्दो प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्यानेलिस्टहरू गौरव राज पाण्डे, बिभूषण बिष्ट र मुन्नी राजभण्डारीले डिजिटलाइजेशनको विस्तार, माग–आधारित डिजिटल समाधानको विकास, डिजिटल भुक्तानी प्रणालीको सुदृढीकरण तथा नियामकीय संरचनाको मजबुतीकरणमार्फत नवप्रवर्तनलाई प्रभावकारी आर्थिक परिणाममा रूपान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
सम्मेलनको पहिलो दिनका सम्पूर्ण प्राविधिक सत्रहरूमा आर्थिक नीति, सुशासन, संस्थागत विश्वास तथा डिजिटल रूपान्तरणसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा गहन छलफल सम्पन्न भएको छ । सम्मेलनको दोस्रो दिन थप प्राविधिक सत्रहरू सञ्चालन हुनेछन् । सम्मेलनमा चार्टर्ड एकाउन्टेन्ट्स, लेखा व्यवसायीहरू, नीति निर्माताहरू, नियामक निकायका प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको छ । सम्मेलनको प्रत्यक्ष प्रसारण संस्थाको आधिकारिक फेसबुक तथा युट्युब पेजमार्फत गरिएको थियो ।
